म एक सुरुवात
जसरी सूर्यको न्यानो किरणले
एउटा नयाँ सुगन्ध ल्याउँछ
त्यसरी नै प्रत्येक बिहानी
मेरो आशाहरूले
नयाँ सुरुवातको उमङ्ग छर्ने गर्दछ ।
नयाँ पालुवाझैँ
म हरेक पल जन्मिइरहेछु
ओइलिएका पातहरूमा
जसरी नयाँ जीवन आउँछ
त्यसरी म पनि
हरेक क्षण फक्रिइरहेछु ।
म भित्रका हजारौँ प्रश्न
अनि मेरा मनका आकांक्षाहरू
जसले मलाई
म हुन सिकाउँछ ।
म मौन छु
म सुनिरहेको छु ती हरेक भावनालाई
जसले म भित्र ठुलो समुद्री छाल बनेर
मलाई मबाट चिरिदिएको छ
म चुपचाप त्यो सबै नियालिरहेको छु ।
त्यो आवाज
त्यो विनाश
अनि सून्य म ।
म बसन्त,
जो ती सबै छरिएका पलहरूलाई समेट्दै
नयाँ रङ भर्दै
नयाँ सुवास छर्दै
फेरि जन्मिएको छु ।