खुसीको परिभाषा के?
बिरानो शहरको सानो कोठामा
सबै दुःख सुख भुलेर, यी शब्दहरू रच्दै छु
के साँच्चै यही हो त खुसी?
हिजोका दिनहरूमा
म आजलाई मेरो कल्पनामा बाँचिरहेको थिएँ,
के यही हो त खुसी?
बिरानो शहर र मानिसहरूको भीड,
सायद केहि पाउनकै निम्ति भौतारिरहेका छन्,
के यही हो त खुसी?
म अतीतका दिनहरूमा,
हरेक क्षण रमाइरहेको थिएँ,
कि त्यही हो खुसी?
खुसी हुनलाई के चाहिन्छ?
ठूलो शहर?
ठूला सपना?
ठूला इच्छा र आकांक्षा?
ठूलो सोच?
सायद खुसीको परिभाषा
मैले लेखेका कथाहरूले अझै पनि खोजिरहेको छ।
खुसी त परकै कुरा
सायद खुसी त केवल
समयले दिएको परिस्थितिमा मात्र सीमित रह्यो।
खुसी हुनु पनि सोच्नु पर्ने रहेछ
जुन दिन तपाईंको आफ्नै सोच,
बिरानो हुँदै जान्छ,
तपाईंका सपनाहरूले
बिस्तारै तपाईंलाई अँगाल्न छोड्छन्,
र तपाईंभित्रका हजारौँ प्रश्नहरूले
आफ्नो राज्य खडा गर्नेछन्
त्यो बेला
तपाईं आफैँलाई नियालेर हर्नुस्
र आफैँलाई सोध्नुस्,
के यही नै हो त खुसीको परिभाषा?