निश्चल म,
मैले कोरेका रंगीन सपनाहरु,
अनी मेरो सपनाको रंगीन संसार।
मैले मेरा चित्रहरूमा रंग भर्दै गर्दा,
मेरो आँखामा झल्किने ती सपनाहरु जसले मलाई जीवन्त बनाउँछ।
ती चित्रहरूले मेरो जीवन दर्शाइरहेका छन् —
मेरो हाँसो, मेरो खुशी र मलाई सधैँ साथ दिने मेरा दुखहरू।
मैले भर्दै गरेको रंगहरूको प्रत्येक चालसँगै छरिएका मेरा भावना।
म जति नै निश्चल छु, त्यति नै चञ्चल छ मभित्र लुकेको पात्र।
उ बिना म अधुरो छु, निशब्द छु।
उ बिना मेरो अस्तित्व के?
उ छ र पो म चलायमान छु।
उसका सपना धेरै रंगीन छन्, मैले कल्पना गरेकोभन्दा पनि फरक।
उस्लाई हास्नु छ, साना–साना खुशीहरू बटुल्न छ,
ओठमा मन्द मुस्कान लिएर बाच्नु छ।
सबैलाई खुशी बाडनु छ —
उसको निःस्वार्थ मन र अनगिन्ती प्रेम।
तर चारैतिर छरिएका उसका भावनाहरू,
लाग्छ कुनै आधीले तहसनहस पारेका उस्का खुशीहरू।
उ मौन छ,
तर उसको अनुहारमा झल्किने ती आशा,
ओठमा सधैं चम्किरहने मुस्कान,
आँखामा देखिने उसका सपना —
र कहिल्यै नथाक्ने उसको मन।
म पूर्ण छु, किनकि उ मेरो लागि अधुरो छ।
मेरा रंगीन सपनाहरूलाई उसले आफ्ना कोमल हातले सजाउँदैछ।
र म, त्यो सपनाको सुगन्धसँगै अघि बढ्दैछु।
म — कुसुमी, एक सुन्दर फूल।