जब धरतीमा प्रकाशले पाइला टेक्दछ,
तब मेरा काँध आफ्नो गन्तव्यतिर लाग्दछ ।
थकित म, र जिन्दगीमा हारिसकेका मेरा आशाहरू,
जो कुनै समय आफ्नै सपना बोकी,
ती सपनाहरू सजाउँदै थिए ।
एउटा कूनामा बसेर मेरा काँधले बोकेका जिम्मेवारीलाई
टुलुटुलु निहाल्नु बाहेक मसंग अरु केही विकल्प छैन ।
म निःशब्द छु, म निपूर्ण छु,
मेरो काँध व्यस्त छ –
संसारलाई आफ्नो गन्तव्यमा पुर्याउन,
उनीहरूका सुन्दर सपना सजाउन ।
उसलाई अरुको सपना सजाउनु छ,
अरूको महल बनाउनु छ,
म केवल उसको एक मुस्कानको प्रतीक्षामा छु ।
उसको मन –
के उसले कहिल्यै त्यसलाई नियालेर हेरेको छ?
त्यो मनले के चाहन्छ?
कहिले यहाँ दौड, कहिले त्यहाँ दौड,
कहिले यो समाऊ, कहिले त्यो समाऊ,
कहिले उसलाई हँसाऊ, कहिले उसका आँसु थाम,
वा! कस्तो रमाइलो छ मेरो काँधको जिन्दगी
सधैँझैँ मेरो काँध, अबेर घर फर्कन्छ
र केही नबोली ममा समाहित हुन्छ।
सधैँझैँ म उसको आँखामा देख्छु –
त्यो निराशा, त्यो थकाई ।
अनि म सोध्छु –
अखिर कहिलेसम्म?
मेरा काँधहरूले मुस्कुराउँदै भन्छ-
“त्यो जिन्दगी नै के जिन्दगी,
जहाँ कुनै सङ्घर्ष नहोस्,
जहाँ कुनै पीडा नहोस्।
मेरा यी सबै भोगाइहरूले नै तिमी छौ,
र तिम्रा सपनाहरू छन्।
म अपूर्ण छु, त्यसैले त तिमी पूर्ण छौ।
मेरो सधैँको दौडले तिमीलाई
नयाँ ऊर्जा दिन्छ, नयाँ आशा दिन्छ।”
म निपूर्ण छु, त्यसैले तिमी पूर्ण छौ ।