अस्ताउँदै गएको सूर्यका रङहरूले
मेरो सामु कोर्दै गरेको एउटा तस्बिर
र ती रङहरूसँगै सजिएका मेरा सुन्दर सपना
सायद त्यो सुन्दर तस्बिर मेरो लागि नै हो कि ?
म मौन छु, म निःशब्द छु
यो दृश्य, जसले मलाई यो रङ्गिन संसारमा
सधैंका लागि कैद गरेको छ
म यसैमा समाहित छु
मलाई अब यी रङहरूमा
सधैँको लागि हराउनु छ
मलाई अब कसैसँग केही गुनासो छैन
सायद जीवनको एउटा सत्य यो पनि हो कि
जीवनका हरेक परिस्थितिलाई
जिउन सिक्नु पर्ने रहेछ
जे हुँदैछ र जे हुनेछ,
त्यसलाई स्वीकार गर्न सिक्नु पर्ने रहेछ
यो एक जीवन जिउने कला रहेछ
यसले दुःख त कम हुँदैनन्
तर जीवनमा आउने हरेक परिस्थितिसँग जुध्न
एउटा नयाँ ऊर्जा दिन्छ,
नयाँ हिम्मत दिन्छ
यो बिरानो शहरमा हराएको म,
हरेक दिन आफैँलाई खोजिरहेको छु
हरेक सुख–दुःखलाई अँगालेर
आफ्नो सपनासँग हरेक दिन भुल्दै
हरेक पल जिउने प्रयास गर्दै छु
मेरा आँखामा सजिएका आशाहरू मौन छन्
कहिलेकाहीँ यस्तो लाग्छ
सायद कुनै यस्तो जादू होस्
जसले मेरो जीवनलाई नयाँ आयाम देओस्
मेरा प्रश्नहरूको सबै उत्तर देओस्
अनि म सधैँको लागि
मैले कल्पना गरेको संसारको
एक पात्र बनेर बाँच्न सकूँ
मलाई अब शब्दमै जिउनु छ
शब्दमै रमाउनु छ, शब्दमै हराउनु छ
शब्दका थोपा–थोपाहरूलाई अञ्जुलीमा समेट्दै
साना साना खुसीहरू बटुल्दै
शब्दकै रंगीन एउटा सुन्दर महल बनाउनु छ
म र मेरो आत्मकथा
म एक प्रार्थना
०००
❤️❤️❤️