सुरुवातका लागि अन्त्य जरुरी छ सायद
केही अन्त्य हुनु छ भने, अन्त्य नै ठीक
अन्त्यसँगैको सुरुवात
एउटा नयाँ आशा
नयाँ विश्वास
यो मेरो कथा, मेरो आत्मकथा
सानो अनिशको कथा
सानो अनिशले बुनेका हजारौँ सपनाहरूको कथा
“त्यो के आकाश नि ड्याडी?
निलो आकाश
कसको आकाश नि ड्याडी?
सानो अनिशको।”
सानो अनिशको मनभित्र उब्जिएको प्रश्न
ती प्रश्नहरूको उत्तर खोजिरहेका मेरा कोमल आँखाहरू
अनि उत्साह र उमङ्गले भरिएका मेरा आशाहरू
सायद मेरा आँखाले देखेको संसार
मैले बुझेको संसारभन्दा फरक थियो
त्यसैले होला, म पुलुक्क आकाशतिर हेर्थें
र एकछिन मेरा बुबातिर
सायद म मेरा प्रश्नहरूको उत्तर खोज्दै थिएँ
म मेरो संसार खोज्दै थिएँ
मैले बुन्दै गरेको मेरो आफ्नै संसार
सानो अनिशका यी कोमल प्रश्नहरू
अब प्रश्नमै मात्र सीमित रहेनन्
यी प्रश्नहरूमा लुकेका छन् अनगिन्ती विचारहरू
जो अदृश्य छ
एउटा अदृश्य कथा
समयको वेगसँगै सिर्जना हुने
अनगिन्ती प्रश्नहरू
र अनभिज्ञ भावनाका लहरहरू
जुन मेरो आँखामा सदैव खेलिरहनेछन्
म हरेक पल ती प्रश्नहरूको उत्तर खोजिरहनेछु
र सधैंका लागि सानो अनिश भएर बाँचिरहनेछु ।